रुँदैरुँदै कानुनमन्त्रीले राजीनामा दिए : अनि भने-केही तत्व मेरो पछाडि लागे


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो ।बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि राजीनामा घोषणा गरेका तामाङले पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो । आफू सधैँ नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग भएको उहाँले बताउनुभयो ।

कानुनमन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि उहाँलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो । आफूले एउटा सार्वजिनक कार्यक्रममा दिएको अभिव्यक्तिलाई गलत तरिकाले बुझिएको बताउँदै नारी अधिकारका लागि आफू निरन्तर लड्दै आएको बताउनुभयो । आफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेको स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएको उहाँले बताउनुभयो ।

कानुनमन्त्री तामाङले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘म आफै महिला मलाई जन्माउने आमा हो । मेरो जीवन साथी हो । छोरी मेरो सन्तान हो । भविष्य हो । सबै हो । आमाको नामबाट नागरिकता दिने विषयको आन्दोलनमा मेरो पनि सहयोग छ । हिंसा भएको छ भनेर मैले आफै बोलेकै हो । तर केही क्लिप मात्रै निकालेर बंग्याएर समाचार आएको हो ।’

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो ।

Comments