६ साउन, काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङ शुक्रबार एउटा सामान्य निजी स्कुलको कार्यक्रममा सहभागी भए ।
ओली सरकारका मन्त्रीहरु आफ्नो कार्यक्षेत्र बाहिरका कार्यक्रममा कसरी अल्मलिइरहेका छन् भन्ने त यो शानदार दृष्टान्त थियो नै, तर त्यहाँ मन्त्रीले सामान्य सभ्यतालाई समेत नसुहाउने गरी नेपाली चेलीमाथि अनैतिक टिप्पणी गरे ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको मन्त्रीले कार्यक्रममा बताएपछि उनको आलोचना हुनु अस्वाभाविक थिएन । र, भयो पनि ।
कानून मन्त्रालयसँग कुनै साइनो सम्बन्धै नराख्ने निजी विद्यालयको कार्यक्रममा भाषण ठोक्न पुगेका मन्त्री तामाङले ‘आज म कथा खोल्छु’ ‘मार्मिक छ कथा’ भन्दै एसईई परीक्षा दिएका वालवालिकालाई यस्तो सुनाए- ‘हामी हाम्रा छोरीचेलीलाई पढ्नलाई विदेश पठाउँछौं । तर, उसले त्यहाँ आफूलाई नसुम्पिइकन सर्टिफिकेट पाउने अवस्था छैन ।’
मन्त्री तामाङले कार्यक्रममा भने- ‘बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ ।’
‘नेपाली छात्राका समस्या उजागर गरेको हुँ’
नेपाली छात्रामाथि मात्रै होइन, समग्र नेपालकै इज्जत र प्रतिष्ठामाथि आँच आउने गरी बोलेका मन्त्री तामाङले घटनाको दुई दिनपछि आइतबार प्रेस वक्तव्य जारी गरेर शुक्रबारको आफ्नो भाषणबारे थप स्पष्टीकरण दिएका छन् ।
आफ्नो भाषण सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री तामाङले प्रेस वक्तव्यमा भनेका छन्- ‘विद्यार्थी भाइबहिनीहरुलाई सम्वोधन गर्ने विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चार माध्यममा सम्प्रेषण भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।’
उक्त भाषणमा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको मन्त्रीले वक्तव्यमा दाबी गरेका छन् । उनले भनेका छन्-‘बंगलादेशमा हाल २००० भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो ।’
बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीहरुले सर्टिफिकेटका लागि आफूलाई बेचेको भाषणमा बताएका मन्त्री तामाङले आइतबारको विज्ञप्तिमा पनि त्यस्तै संकेत गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्- ‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेका छन् ।’
Comments
Post a Comment