डोटी । डोटी जिल्लाको आदर्श गाँउपालिकाका बमबहादुर बोहराकी श्रीमतीले नाबालक दुई छोरा र एक छोरी सहित सेती नदीमा हाम फालेकी छिन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहराले १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहरालाई हुत्याएर आफुलेपनि सामूहिक सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतका अनुसार एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका हुन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नुको कारण पारिवारीक कलह हुनसक्ने आशंका गरिएको छ ।
परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ। शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
Comments
Post a Comment